बुहारी हाम्रो सवैभन्दा नजिकको साथी हुन् : पुर्वकर्मचारी परिषद् गण्डकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सरकारी सेवामा लामो समय बिताएका पूर्व कर्मचारीहरूको साझा संस्था पूर्व कर्मचारी सेवा परिषद् नेपालले आफ्नो विज्ञतालाई जीवित राख्न सदस्यहरू बिच विभिन्न खालका सृजनात्मक तथा रचनात्मक गतिविधिहरूलाई जारी राखेको बताएको छ । जसका खातिर सदस्यहरूका बिचमा पुनर्मिलन, अन्तरक्रिया, छलफल, भेटघाट लगायत कार्यमा उनीहरूलाई सामेल गराउने कार्य गरिरहेको परिषद्ले जनाएको छ । 

‘हामी जेष्ठनागरिकको दर्जामा पर्दछौँ, उमेरका हिसाबले हामी जीवनको उत्तराद्र्धमा आइपुगेका छौँ, परिषद्का अध्यक्ष गिरीधारी सुवेदी भन्छन्, हामीलाई जीवन प्रतिको आशा जगाउने उद्देश्य केन्द्रित गतिविधिहरूको आवश्यकता छ, हाम्रा बिचमा पुनर्मिलन, नियमित स्वास्थ्य उपचार, हाम्रा अधिकार र अवसरहरूको वकालतको जरुरत छ ।’ जीवनको ऊर्जाशील समय राष्ट्रको सेवा सर्मपर्ण गरिएका प्रति आफूहरू गौरवान्वित रहेको उनले बताए । ‘हामीलाई गर्व छ, कि हामीले हाम्रो ऊर्जाशील समय राष्ट्रको सेवामा खपत गरेका छौँ, जनताको सेवामा दशकौँ वर्षहरू व्यतीत गरेका छौँ, उनी भन्छन्, हामी यो राष्ट्र सबल सक्षम र समृद्ध भएको हेर्ने चाहन्छौँ, निजामती सेवाप्रति जनताको आकर्षण बढेको र लोककल्याणकारी राज्य बनेको हेर्न चाहन्छौँ ।’ उनले राज्यलाई आवश्यक परेका बेला बलियो गरी उत्साहका साथ डृढतापुर्वक उभिने प्रण समेत गरे । 

परिषद्ले सामाजिक रूपमा एक अनुकरणिय कार्यका रूपमा बुहारी सम्मानको कार्यक्रम अघि सारेको बताएको छ । परिषद्ले घरकी बुहारीलाई आफ्नो नजिकको साथीका रूपमा चित्रण गरेको छ । उनीहरूले भनेका छन्, ‘बुहारी हाम्रो सबैभन्दा नजिककी साथी हुन्, अप्ठ्यारो परेको बेलामा सबैभन्दा पहिले आउने उनी हरेक ज्येष्ठ नागरिकहरूको पहिलो सहयोगी पनि हुन्, हामीलाई तातोपानी दिने, औषधी उपचारमा चासो राख्ने, आडदिएर भित्रबाहिर गराउने उनी हाम्री असाध्यै प्रिय पात्र हुन्, तसर्थ हामी उनलाई सदैव मित्रताको निकटस्थ राख्ने प्रयत्न गर्दछौँ र हाम्रा तर्फबाट सम्मान व्यक्त गर्दछौँ ।’ बुहारी सम्मानले उनी प्रतिको जेष्ठनागरिकको आशा र आदर भावको उजागर गरेको बुझाई परिषद्मा रहेको छ । 

परिषद्ले आफ्ना सदस्यहरूको क्रियाशीलता बढाउन विभिन्न उपसमितिहरू समेत गठन गरी जिम्मेवारी बाँडफाँड समेत गरेको छ । परिषद्को गण्डकी समितिले आफ्ना गतिविधिहरूलाई चलायमान बनाउनका लागि १८ वटा विषयगत समितिहरू गठन गरी जिम्मेवारी तोकेको छ । ती समितिहरूले कुशलतापूर्वक आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेका छन् । समितिहरू मार्फत विभिन्न प्रकारका सामाजिक क्रियाकलापहरूमा सहभागिता सहितको उपस्थिति दर्ज गर्ने गरिएको छ । उनीहरूले आफ्नो विज्ञता र क्रियाशीलताको सम्मान स्वरूप विभिन्न ६ वटा अक्षयकोष मार्फत आफ्ना सदस्यहरूलाई सम्मान समेत गर्दै आइरहेको बताएका छन् ।

गण्डकी प्रदेश सरकरका सचिव प्रविन ढकालले पुर्व कर्मचारीहरुको समस्याहरु प्रति प्रदेश सरकार गम्भिर रहेको उनले बताएका छन् । आफ्नो विज्ञतालाई जिवित राख्नका लागि निरन्तर क्रियाशिलतामा उनले जोड दिएका छन् । 

परिषद्ले आफूहरूको हित तथा कल्याण प्रवद्र्धनमा राज्यले सहयोग गर्नु पर्ने बताएका छन् । आफूहरूसँग भएको विज्ञताको आधारमा राज्यलाई सहयोग गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै उनीहरूले राज्यले पनि आफूहरूको हित तथा कल्याण प्रवद्र्धनमा योगदान गर्नुपर्ने बताएका हुन् । परिषद्मा ७ सय बढी पुर्वकर्मचारीहरु आबद्ध छन् ।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।