विशाल पछाई बचाउ अभियानमा पेङ्गुइनको सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा ३ साउन । 
पोखरा ५ निवासी विशाल पछाई लाई मेरुदण्डले काम नगरेपछि ओछ्यानमै थला परेको करिब ४ वर्ष भयो । उमेरले ३१ वर्ष लागेका पछाई केही गरौं भन्ने उमेरमा आमा र बहिनीको सहारामा बाँचिरहेका छन् ।  १५ वर्ष अघि नै बाबुले छोडेर कता गए गए केही पत्तो छैन । बिहे गरेकी श्रीमती पनि श्रीमानको यो अवस्थामा साथ दिन सकिनन् । छोरा छोडेर विदेश गइन । न त उनले पैसा पठाइन न त श्रीमान् र सासूको सम्पर्कमा नै छिन् । 
गैँडाकोटमा काम गर्दै गर्दा विशाल लडेका थिए । कति बेला लडे कसैले थाहा पाएनन् । बिहानी पख उनलाई अस्पताल लगियो । चितवन हुँदै काठमाण्डौं सम्म उनको उपचारमा परिवारले थुप्रै धनराशि खर्च गर्‍यो तर पनि उनी उठ्न सकेनन् । 
शनिवार लायन्स क्लब अफ पोखरा पेङ्गुइनले मेरुदण्डको समस्याबाट पीडित विशाल पछाई लाई रु १७ हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग गरेको छ । क्लबका अध्यक्ष सुवास अंगाईले रिजन चियर पर्सन रश्मी अधिकारी भण्डारीको उपस्थितिमा उक्त रकम विशालकी आमालाई हस्तान्तरण गरेको हो ।  क्लबका पूर्व अध्यक्ष ज्ञानबहादुर रानाको छोरा समिप रानाको जन्मोत्सव पारेर उक्त कार्यक्रम गरिएको क्लबका अध्यक्ष अंगाईले जानकारी दिए । क्लब स्थापना भएको पाँच वर्ष पुरा भए पनि यसले सामाजिक क्षेत्रमा धेरै उदाहरणीय काम गर्दै डिक्टिक ३२५ आईमा राम्रो स्थान बनाएको उनको दाबी छ । पूर्व अध्यक्षहरुको योगदान र क्लबका साथीहरुको सहयोगका कारण धेरै काम गर्न सहज भएको स्मरण गर्दै अंगाई भन्छन्, आज पनि समिप रानाको जन्मोत्सवको अवसरमा क्लबका सबै साथीहरुको आर्थिक सहयोगमा विशाल पछाई लाई सहयोग गरिएको हो । आउँदा दिनमा पनि लायन्स क्लबले गर्न सक्ने यस्ता सहयोगहरु जारी राख्ने उनको भनाई थियो । 
विशालको परिवारले अझै आर्थिक सहयोगको लागी अपिल गरिरहेको छ । घरमा पैसा कमाउने आमा सहकारीमा काम गर्छिन् उनको तलबले घर भाडा मात्र टुपुक्क पुग्छ । बहिनीले भाटभटेनीमा काम गर्छिन् । उनको कमाईले घरमा खान समेत धौधौ छ । यो अवस्थामा विशालको उपचार कसरी गर्ने भन्ने चिन्ता परिवारलाई छ । थेरापी गर्न पाए छोरो उठेर हिँड्छ की भन्ने आशामा आमा छिन् तर थेरापी गराउने ठाउँ सम्म लान र ल्याउन आवश्यक पैसा र सवारी उनीसँग छैन । दिसा पिसाब नै एकै ठाउँमा हुने गरी थला परेका विशालको यो पीडादायीक रोगको उपचारमा सहयोग गर्न परिवारले हारगुहार गरेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।