पोखरा महानगरपालिका वडा नं. ५ को वडा कार्यालयले धर्मस्थली आधारभूत विद्यालयमा अध्ययनरत अतिविपन्न वर्गका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
बिहीबार आयोजित एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये २५ जनालाई न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा वडाध्यक्ष विष्णुप्रसाद बरालले विद्यालयको स्वर्ण महोत्सवलाई सघाउने उद्देश्यले नै यो कार्यक्रम जोडिएको बताए । उनले स्वर्ण महोत्सव भव्य बनाउन वडा कार्यालय लागिरहेको स्पष्ट पारे ।
विद्यालयमा स्वर्ण महोत्सव चलिरहँदा यहाँका विद्यार्थीको अवस्था कस्तो छ, वातावरण कस्तो छ, खानेपानीको उचित प्रवन्ध छ कि छैन, शिक्षादीक्षाको अवस्था कस्तो छ भन्ने विषय बुझ्न अति जरुरी रहेको उनले बताए । यति बुझ्दै जाँदा केही विद्यार्थीलाई न्यानो कपडाको समस्या भएको जानकारी पाएर वडाले सहयोग गरेको वडाध्यक्ष बरालले स्पष्ट पारे ।
चिसोका कारण, भोकका कारण, प्यासका कारण, शैक्षिक सामाग्री अभावका कारण विद्यार्थीहरु पढाइबाट बञ्चित हुन नहुने उनले बताए । स्वर्ण महोत्सवका बारेमा चर्चा परिचर्चा सुरु भइसकेको भन्दै उनले पछिल्लो समयमा विद्यालयको राम्रो प्रगति भएको भन्दै खुसी प्रकट गरे ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।