प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका-१ ख्याहाकी पदमा सुनारको बीभत्स हत्या गरेको अभियोगमा छिमेकी सागर भनिने देवलाल सार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
सुनारको गत मङ्गलबार दिउँसो १२ बजे धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । प्रारम्भिक अनुसन्धानमा हत्यामा संलग्न देखिएकोले लप्सीखोलाका १९ वर्षीय सार्कीलाई पक्राउ गरि सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।
घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएका सामग्री बरामद गरेको छ । प्रतिवादीले हत्या गर्दा प्रयोग गरेको धारिलो हतियार (हसिया) एक थान, हत्या गर्दा लगाएको लुगा कालो जिन्स पाइन्ट र रातो टिसर्ट एक-एक थान, रातो रङको खादा, कालो रङ्गको चप्पल एक जोर, मृतकको मोबाइल एक थान र रगतजस्तो रातो पदार्थ लागेको मोबाइलको टेम्पर ग्लास एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
सुनार गत मङ्गलबार घरबाट अन्दाजी दुई किलोमिटर टाढाको लप्सीखोलामा कपडा धुन र नुहाउन गएकी थिइन् । उनी दिउँसो साँढे तीन बजेसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा ४ बजेको समयमा रिब्दिकोट-१ खुलखुले गैरास्थित लप्सीखोलाबाट कराम्दीतर्फ जाने गोरेटोमा उनले धुन लगेका कपडा लथालिङ्ग अवस्थामा भेटिएको थियो ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।