गोरखा मिलन समाजले खुलायो निःशुल्क दर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गोरखा मिलन समाज पोखराले गोरखाबाट पोखरा आई बसोबास गरेका चेलीबेटीहरूलाई हरितालिका तीजको अवसरमा निःशुल्क दर तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । पोखरा रत्न चोकमा रहको तमु समाज घरमा गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री माननीय सुशीला सिम्खडाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै सिम्खडाले तीज पर्वले सबै नेपाली महिला दिदीबहिनीहरू बिच आत्मीयता बढाएको बताउनुभयो । उहाँले गोरखा मिलन समाजले हरेक वर्ष तीजको अवसरमा यस्ता कार्यक्रम राख्दा माइती भेटिए जस्तो, परिवार भेटिए जस्तो अनुभूति भएको समेत बताउनु भयो । पछिल्लो समयमा तीजका नाममा हुँदै आएका विकृतिहरूलाई न्यूनीकरण गर्न सबै लाग्नु पर्ने बताउँदै आफ्नो रित्ती संस्कृति अनुसार चाडपर्वहरू मान्नु पर्नेमा उहाँको जोड थियो । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीकी उपप्रमुख सरिता मालले पहिलो पटक समाजको कार्यक्रममा आउन पाउँदा खुसी लागेको बताउनुभयो । गोरखाबाट पोखरा बसोबास हुँदा पनि यस्तो कार्यक्रममा आउने मौका नपाएको बताउँदै आउँदा माइती आए जस्तो आभास आफूले पाएको बताउनुभयो । समाजको कार्यक्रमहरूमा सम्झन र सके सम्म आफू उपस्थित हुने पनि उहाँको भनाई थियो । कार्यक्रममा समाजका सल्लाहकार अर्जुनबहादुर भण्डारीले पनि बोल्नुभएको थियो । समाजकी सचिव गीता खनालको संयोजकत्वमा निःशुल्क तीजको दर खाने कार्यक्रम तथा शुभकामना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्षता समाजका अध्यक्ष अग्रिम श्रेष्ठ, स्वागत मन्तव्य निवर्तमान अध्यक्ष कोपिला श्रेष्ठ र सञ्चालन महासचिव शीतल श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट नृत्य गर्नेलाई पुरस्कार समेत प्रदान गरिएको थियो । 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।