मनाङवासी स्याउ बगैँचा गोडमेलमा व्यस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हिमाली जिल्ला मनाङको मुख्य उत्पादनका रुपमा स्याउ मानिन्छ । यहाँ आलुसँगै स्याउ गोडमेलको समय भएको छ ।  केही महिना जिल्ला बाहिर रहने मनाङवासी अहिले स्याउ बगैँचा गोडमेलमा व्यस्त छन् ।

हिउँद याममा यहाँका स्याउ बगैँचा उजाड हुन्छ । भदौ, असोज र कात्तिकमा स्याउ टिपिसकेपछि बोटका पात झर्छन् ।

अनि नाङ्गै बन्छन् स्याउका बोट । त्यसपछि माघ र फागुनमा स्याउ बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्ने र आंशिक रूपमा स्याउको व्यवस्थापन गर्ने गरिन्छ । अहिले यहाँका किसान तिनै स्याउका बगैँचा व्यवस्थापन गर्ने चटारोमा छन् ।

नासों गाउँपालिका-८ ताचैका स्याउ किसान सोलबहादुर गुरुङले यसवर्ष यहाँसम्म हिमपात नभए पनि स्याउ खेती राम्रो हुने गरेको बताए । उनले यतिबेला स्याउ बगैँचा गोडमेलमा व्यस्त भएको बताए ।

मुख्य आय नै स्याउ भएको बताउँदै उनले भने, “आयस्रोतलाई जोगाउने र उत्पादन राम्रो कसरी हुन्छ भन्नेतर्फ लागेका छौँ ।” यहाँका अधिकांश मानिसको घरमा स्याउ हुने र गोडमेल गर्ने समय भएको उनले सुनाए ।

जाडो छल्न यहाँका स्थानीयवासी बाहिर गएर फर्किएपछि बगैँचा गोडमेल गर्ने गर्दछन् । त्यस्तै नासों-६ तिल्चेका टङ्क गुरुङ पनि स्याउ बगैँचा गोडमेल तथा व्यवस्थापनमा व्यस्त छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।