रसियन कम्युनिस्ट पार्टीका नेताहरूलाई पोखरामा नेकपा (एकीकृत समाजवादी) को सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेकपा (एकीकृत समाजवादी) को निमन्त्रणामा नेपाल भ्रमणमा आएका रसियन कम्युनिस्ट पार्टीका अध्यक्ष सर्गेइ मालिन्कोविचको टोली स्वदेश फर्किएको छ । नेपाल भ्रमणका क्रममा पोखरा आएका अध्यक्ष मालिन्कोविचले पार्टीको कास्की जिल्ला कमिटीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा पनि सहभागी भएका थिए ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव श्रीनाथ बरालको प्रमुख आतिथ्ययतामा भएको अन्तरक्रिया कार्यक्रममा रसियन नेता मालिन्कोविचसँग पार्टीका नेता तथा कार्यकर्ताहरूले साक्षात्कार गर्नुका साथै सवाल जवाफ गरेका थिए । सो क्रममा मालिन्कोवीचले रसियन कम्युनिस्ट मुभमेन्ट र त्यहाँको गौरवमय कम्युनिस्ट क्रान्तिका बारेमा प्रकाश पारेका थिए । 

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव श्रीनाथ बरालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै विश्वभर सर्वहारा र मजदुर वर्गको सत्ता निर्माण गर्ने लक्ष्य प्राप्तिको दिशामा अगाडी बढ्नु पर्नेमा जोड दिए । मजदुर र गरिब वर्गमाथिको दमन र उत्पीडन विद्यमान रहेको भन्दै संसारभरबाट कम्युनिस्ट आन्दोलन मार्फत सामन्तीहरूको सत्ता ढाल्न सकिने उनले बताए । 

कार्यक्रममा पार्टीको तर्फबाट सचिव बरालले रसियन कम्युनिस्ट पार्टीका अध्यक्ष सर्गेइ मालिन्कोविच रसिया ब्रायन्स्क क्षेत्र प्रमुख एलेना डेगटियारेवा र पार्टी नेता एन्ड्राइ इस्तुपीनलाई मायाको चिनो प्रदान गरेका थिए । पार्टीको जिल्ला अध्यक्ष खड्ग हमालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, एकीकृत समाजवादीका नेता तुल बहादुर गुरुङ, केन्द्रीय सदस्यहरू कृष्ण नेपाली, सिता पौडेल, रत्ना गुरुङ, शर्मिला पौडेल लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव डिवी राईले गरेका थिए । 

रसियन कम्युनिस्ट पार्टीका अध्यक्ष सर्गेई मालिन्कोविचले नेकपा (एकीकृत समाजवादी) का नेता तुल बहादुर गुरुङलाई अन्तर्राष्ट्रिय मेडल समेत प्रदान गरेका छन् । रुसी अक्टोबर समाजवादी क्रान्तिका नेता भ्लादिमिर लेनिनको तस्बिर अङ्कित उक्त मेडल रसियन कम्युनिस्ट पार्टीले समाजवादी आन्दोलनमा योगदान पुर्‍याएका कम्युनिस्ट नेतालाई प्रदान गर्ने गरिन्छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।