काठमाडौँ । ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले बुधबार खेलिएको खेलमा गुजरातलाई आठ रनले हराएको छ । जारी शृङ्खलामा नेपालले हासिल गरेको यो लगातार तेस्रो जित हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई हराएको थियो । दोस्रो खेलमा नेपालले बरोडालाई पराजित गरेको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७३ रनमात्र बनाउन सक्यो । गुजरातलाई लक्ष्यसम्म पुग्न नदिन नेपाली बलर सोमपाल कामी र कुशल मल्लले दुई-दुई विकेट लिए । गुलसन झा र विवेक यादवले पनि एक-एक विकेट हात पारे । गुजरातका लागि उमंग तन्डेलले सर्वाधिक ४७ रन बनाए । हर्ष देसाईले पनि २९ रनको योगदान गरे ।
त्यसअघि नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ विकेटका लागि उत्कृष्ट साझेदारी गरेका थिए । नेपालका दुवै ओपनर ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । यी दुवैले ओपनिङ विकेटका लागि एक सय २५ रनको साझेदारी गरेका थिए ।
कुशल भुर्तेल ४४ बलमा ६७ रन बनाउँदै आउट भए । उनले दुई छक्का र नौवटा चौका पनि प्रहार गरे । उनी १३.३ ओभरमा नेपालको पहिलो विकेटका रुपमा पेभेलियन फर्किएका थिए । अर्का ओपनर आसिफ शेखले पनि टोलीका लागि ८५ रनको योगदान गरे ।
पेभेलियन फर्किनुअघि आसिफले ५१ बलको सामना गरी पाँच छक्का र १० चौका हिर्काएका थिए । उनी १८औँ ओभरको पहिलो बलमा आउट भएका थिए । कप्तान रोहित पौडेल भने तीन रनमै आउट भए । उनी १६औँ ओभरको अन्तिम बलमा बाउन्ड्री प्रहार गर्ने धुनमा क्याच आउट भएका थिए ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।