कास्कीको मादी गाउँपालिकाको १७औं गाउँसभा अनिश्चितकालका लागि स्थगित भएपछि आगामी आर्थिक वर्षको बजेट आउन सकेन् । नेपालको संविधान अनुसार असार १० गतेभित्र स्थानीय तहहरूले बजेट ल्याउनुपर्ने प्रावधान छ। तर मादीमा दुई ठुला पार्टी नेताहरु बीचको विवादका कारण यो कार्य समयमै हुन सकेन।
गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। तर, छलफलकै क्रममा नियम उल्लङ्घनको आरोप लागेपछि बैठक नै स्थगित भयो। सोमबारको छलफलमा कांग्रेस र एमालेनिकटका केही सदस्यबीच भनाभन भएपछि बैठक अवरुद्ध भयो। कांग्रेसी की गाउँसभा सदस्य पार्वती राना मगरले कार्यपालिकाको बैठक ‘पार्टी बैठक जस्तो’ भएको भन्दै आपत्ति जनाइन्। त्यसपछि एमालेका गाउँसभा सदस्य माधव सापकोटा र दीपक क्षेत्रीले बैठकको केही अंश रेकर्डबाट हटाउन माग गरे। कुरा टुंगो लाग्न नपाउँदै केहीले समर्थन र केहीले असहमति जनाएपछि बैठक स्थगन भयो।
पालिका सदस्य सचिव धनेन्द्र भूजेलद्वारा जारी सूचनामा अर्को सूचना नआएसम्म अधिवेशन स्थगित रहने उल्लेख गरिएको छ। संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते, र स्थानीय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गर्नैपर्छ। मादीले यो कानुनी सीमा गुमाइसकेको छ। सोमबार बेलुका देखि स्थगित भएको गाउँसभा बैठक मंगलबार बैठक बस्न सकेन् । कार्यसम्पादन मुल्याङकनमा समेत अब यसले असर पर्ने भएको अध्यक्ष गुरुङले पोखराक्लिक समक्ष गुनासो गर्नु भयो । अबको एक साता भित्र छलफल गरी विवादित बिषयमा टुंगायर बजेट ल्याउने गृहकार्य गर्ने भएको श्रोतको भनाई छ । अब पालिकाको अर्को सूचना नआएसम्म बजेट प्रक्रिया अघि बढ्ने छैन। मादीको बजेट केही समयको लागि अन्यौलमा रहेको छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।